निहिता भारत गएर नेपालको कुरा काट्दै


जेलका अधिकारीहरुले अस्वीकार गरे पनि तीन वर्षअघि विजया दशमीको दिन जेलभित्रै बिहे गरेको दावी गर्ने नेपाली युवती निहिता विश्वासले आफ्ना ‘पति’ अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजको पक्षमा समर्थन जुटाउन नौलो उपाय अपनाएकी छिन्। भारतको कलर्स टेलिभिजनमा प्रसारण हुने विवादित रियालिटी टिभी सो ‘बिग बोस’ सिजन फाइभमा सहभागी हुँदै उनले हिजो नेपाल सरकारले चार्ल्समाथि अन्याय गरेको बताइन्। प्रमाणै नभई बित्थामा थुन्यो, सजाय पुनवरालोकनको अपीलसमेत लिएन भन्दै उनले कुरा काटिन्।
आफूभन्दा ४६ वर्ष जेठो जेलमा रहेका अपराधीसँग लभ परेको भनी दावी गर्ने निहिताले कार्यक्रमका अन्य सहभागीसँग अहिलेसम्म आफूले उनीसँग सेक्स भने नगरेको समेत भनिन्। कार्यक्रम सञ्चालक सलमान खान र सञ्जय दत्तले कसरी लभ पर्‍यो त भनी सोधेको प्रश्नमा उनले ‘ऊ चिज नै त्यस्तै हो’ भनिन्। शोभराज ३० वर्षका जस्तो देखिएको पनि उनले बताइन्। अब उनी ९८ दिन एक किसिमले जेलमा रहने छिन्।

भन्नलाई उनले यसो भने पनि वास्तवमा उनी यो कार्यक्रममा सहभागी हुने कि नहुने भन्ने बारे दोधारमा थिइन् भनिन्छ। उनलाई शोभराजले नै जोड दिएर त्यहाँ पठाएको भारतीय सञ्चार माध्यमले लेखेको छ। हिन्दुस्तान टाइम्सका अनुसार न्यायाधीशहरुको अन्तर्राष्ट्रिय कमिटी, एमनेस्टी इन्टरन्यासनल आदिबाट अन्तर्राष्ट्रिय सहयोगको प्रयास गरिरहेका शोभराजले बलिउडसँग पनि सुमधुर सम्बन्ध कायम गर्न निहितालाई त्यसमा पठाएको विश्वास गरिएको छ। शोभराजको अपराध जीवनका बारेमा बलिउडमा फिल्म बनाउन शाहरुख खान, आमिर खान र सञ्जय दत्तसँग वार्ता गर्न उनी इच्छुक भएको र कार्यक्रम सलमान खान र सञ्जय दत्तले सञ्चालन गर्ने भएकोले उनीहरुसँग निकट हुन निहिताले बिगबोसमा उनलाई पठाएको सो पत्रिकाले लेखको छ।
निहिताले सलमान खान र सञ्जय दत्तलाई के भनिन्, भिडियो हेर्नुस्-  



के हो बिग बोस ?


निहिता सहभागी भएको कार्यक्रम बिग बोस बेलायतमा प्रसारण हुने बिग ब्रदरको शैलिमा बनेको कार्यक्रम हो। यो पाँचौँ शृङ्खला हो। यो कार्यक्रममा १४ जना सहभागी हाउसमेटहरु ९८ दिनसम्म बाहिरी विश्वसँग सम्पर्कविहीन भएर एउटै घरमा बस्छन्। यस पटक यो कार्यक्रममा निहिताबाहेक अन्य ११ जना महिला छन्। एक मात्र पुरुष शक्ति कपूर रहेका छन् भने एक आधा पुरुष आधा महिला। कार्यक्रमका सहभागीहरुमा पूजा बेदी, सोनाली नागरानी, श्रद्धा शर्मा, मन्दीप बेभ्ली, रागेश्वरी, महेक चहल, सोनिका कालिरमन, पूजा मिश्रा, गुलाबो सपेरा, लक्ष्मी नारायण र जुही परमार रहेकी छिन्। कार्यक्रममा निहिता नेपालबाट र अफगानिस्तानबाट मिस अफगानिस्तान २००३ विदा समादजाइ सहभागी छिन्। घरभित्र हिन्दी भाषामा मात्र बोल्नु पर्ने नियम हुन्छ र यो विषयमा पहिलो दिनै निहितालाई सचेत पनि गराइएको थियो।
टेलिफोन, इन्टरनेट केही पनि नभएको यो नौ हजार वर्गफिटको घरमा दुई वटा बेडरुम हुन्छन् र ५५ वटा क्यामेराले उनीहरु सबैलाई बिग बोसले २४ सै घण्टा निगरानी गरिरहेको हुन्छ। झगडा नगरी मिलेर उनीहरु बस्नुपर्ने हुन्छ।

हरेक हप्ताको शुक्रबार सबै सहभागीलाई दुई जना सहभागीको नाम लिन लगाइन्छ जो आउट हुनका लागि नोमिनेट हुन्छन्। सबभन्दा बढीले जसको नाम लिन्छन्, त्यसका आधारमा बिग बोस आफैले दुई जना र कहिलेकाहीँ तीन जनाको नाम नोमिनेट गर्छन्। ती नामहरुलाई दर्शकका सामु राखिन्छ। दर्शकले एसएमएस वा फोन गरेर उनीहरुलाई भोट गर्छन् र कम भोट पाउने एक जना सहभागीलाई हरेक हप्ता आउट गरिन्छ। अन्तिमसम्म जो आउट हुँदैन उही विजयी हुन्छ।
भारतीय टेलिभिजनकै अर्को रियालिटी सो इन्डियन आइडलमा नेपाली मूलका प्रशान्त तामाङलाई विजयी गराउन नेपालबाट समेत एसएमएस गरिएको थियो। निहितालाई नेपाली दर्शकहरुले कसरी हेर्ने हुन्, प्रतीक्षा गरौँ।
चार्ल्स शोभराजको पक्ष लिँदै कसरी नेपालको कुरा काटिन् निहिताले, भिडियो हेर्नुस्- 

By Salokya, 


S3E8AS3VRWTH

No comments:

Post a Comment