नेपाललाई आर्थिक सहयोग रोक्ने अमेरिकी चेतावनी

 अमेरिकाले तिब्बती शरणार्थीलाई नेपालको बाटो हुँदै तेश्रो मुलुक जान नदिए नेपाललाई दिँदै आएको सहयोग रोक्ने चेतावनी दिएको छ । चीनबाट भागेर नेपाल आएका तिब्बती शरणार्थीलाई अमेरिका लगायतका तेश्रो मुलुक जान ‘एक्जिट भिषा’ उपलब्ध नगराए नेपाललाई गर्दै आएको लाखौँ डलरको सहयोग रोक्ने चेतावनी अमेरिकाले दिएको हो ।
अमेरिकी कंग्रेसको वैदेशिक सहायतासम्बन्धि समितिमा तिब्बत मामिलासम्बन्धि छलफलका क्रममा तिब्बती शरणार्थीमाथि नेपालले गर्दै आएको व्यवहार नसुधारेमा सहयोग कटौती मात्र नभइ पूरै रोक्नुपर्ने आबाज उठेको छ ।
समितिमा नेपालले तिब्बती शरणार्थीमाथि गर्ने व्यवहारमा सुधार्नुपर्नेमा जोड दिइएको छ । समितिमा बोल्दै रिपब्लिकन पार्टीका सांसद फ्रान्क ओल्फले तिब्बती शरणार्थीको विषयमा आफुहरुको आग्रहलाई नेपालले नमानेमा आर्थिक सहयोग नगर्ने बताउनु भयो । यस विषयमा नेपालको व्यवहारमा सुधार नआए अर्को वर्ष संसदमा नेपाललाई दिने सहयोग कटौतीको प्रस्ताव लैजाने उहाँको भनाइ छ ।
पछिल्ला दिनमा नक्कली नागरिकता र पासपोर्ट प्रयोग गरि तिब्बती शरणार्थीलाई अमेरिका लैजान दूतावास नै सक्रिय भएपछि नेपालले त्यसप्रति आपत्ति जनाउँदै आएको छ । नक्कली पासपोर्टमा भिषा उपलब्ध गराएर कुटनीतिक चिठ्ठीसमेत थमाइएका एक तिब्बतीलाई केही महिनापछि त्रिभुवन बिमानस्थलबाट पक्राउ परेपछि अमेरिका नेपाल सरकारसँग चिढिदै आएको छ ।
भुटानी शरणार्थीलाई तेस्रो देशमा पुर्नवास गराइरहेको अमेरिकाले तिब्बती शरणार्थीलाई पनि त्यसैगरि लैजान पाउनुपर्ने माग नेपाल सरकारसँग गर्दै आएपनि नेपालले त्यसलाई अस्वीकार गर्दै आएको छ । नेपालले एक चीन नीति अबलम्बन गरेका कारण नेपालमा हुने तिब्बती शरणार्थीको अबैध गतिबिधिमाथि निगरानी गर्दै आएको छ । तर अमेरिका र युरोपेली मुलुकहरुले शरणार्थीलाई आर्थिक सहयोग उपलब्ध गराउँदै नेपालसँग सहयोग नदिनेसम्मका धम्की दिने गरेका छन् ।

No comments:

Post a Comment