नेपाल
टेलिभिजनको लोकप्रिय कार्यक्रम तीतो सत्यका दर्शकका लागि ट्वाकेन्द्र पि्रय नाम हो
। तितो सत्यको सुरुदेखि नै सो टीममा रहनुभएका कलाकार गोपाल अधिकारी ‘ट्वाकेन्द्र’
अब अमेरिकामै स्थायी बसोबास गर्ने सुरमा हुनुहुन्छ । अमेरिका पलायन हुने
कलाकारहरुको सूचीमा उहाँ पनि पर्नुभएको छ । एक वर्ष लामो अमेरिका बसाईपछि उहाँले
त्यहाँको ग्रीन कार्ड हात पारिसक्नुभएको छ । अब परिवारसहित उतै बस्ने उहाँको तयारी
छ । प्रस्तुत छ तिनै कलाकार अधिकारीसित गरिएको कुराकानी।
० यसअघि
अमेरिका के सिलसिलामा जानुभएको थियो ?
- कार्यक्रम प्रस्तुत गर्ने सिलसिलामा
म सन् २०१० को जुलाई २६ मा अमेरिका गएको हो । तीतो सत्यका अरु कलाकारसँगै म त्यहाँ
पुगेको थिएँ ।
० अमेरिका
कतिपटक जानुभयो ?
- अहिलेसम्म एकपटक मात्रै हो गएको ।
० कति
बस्नुभयो ?
- १४ महिना बसें ।
० लुकेर
बस्नुभएको भन्ने हल्ला चलेको थियो ?
- हल्ला पनि हो । एक हिसाबले भन्दा
सत्य पनि हो । ग्रीन कार्ड लिनको लागि धेरै मेहनत गर्नुपर्यो । त्यसैले त्यही
ढंगले बस्नुपर्यो । बाध्यताले पनि अमेरिका बस्नुपर्ने अवस्था आएकाले ग्रीन कार्ड
लिएँ । अब चाहिं ढुक्क भएर फर्केको छु ।
० त्यसो भए अमेरिकामै
बस्ने ?
- अँ अब के गर्ने त ? घरपरिवार र आफ्नो
भविष्य पनि हेर्नुपर्यो ।
० यता भविष्य
देख्नुभएन ?
- भविष्य नै नदेखेको त होइन, तर आफूले
सोचेजस्तो यता होला जस्तो लागेन ।
० कस्तो
सोच्नुभएको थियो र भएन ?
- हुन्छ नि आर्थिक पक्ष । यता आफूले
भनेजस्तो आर्थिक पक्ष बलियो होला जस्तो लागेन । उता काम गर्न सकिएमा धेरै आम्दानी
हुने रहेछ । त्यसैले उतै जान लागें ।
० दाम त होला,
तर यहाँ भएजस्तो शान र मान त्यहाँ पाइएला ?
- त्यो त हुँदैन । यहाँ जस्तो नाम र
शान छ, अमेरिकामा पक्कै पनि पाईंदैन । नाम र शान नभएपनि दामको लागि जान लागेको हो
।
० अब कहिले
जानुहुन्छ अमेरिका ?
- अब जनवरी पहिलो हप्तातिर जाने
कार्यक्रम छ । परिवार सहित जान्छु ।
० गएर
र्फकनुहुन्छ कि हुँदैन ?
- आउँछु नि बेलाबेला । आफ्नो देशको
माया लाग्छ, आउनपर्यो नि समय मिलाएर ।
०
तपाईंहरूजस्ता कलाकार किन विदेश पलायन हुने क्रम बढेको होला ?
- बाध्यता हो । देशको परिस्थिति यस्तै
हो । राजनीतिक स्थिरता पनि हुँदैन । अर्को महत्वपूर्ण कुरा बजार छैन । गुजारा गर्न
परिगो । परिवार पाल्न पर्यो । त्यसैले बाध्यताबश हामी जस्ता कलाकार पनि विदेश
पलायन भएका हौं ।
० अमेरिकामा
अरु कलाकार कसरी बसेका रहेछन् ?
- राम्रैसित बसेका छन् । कमाएका छन् ।
मेहनतका साथ काम गर्नेलाई अमेरिकामा राम्रो छ । आम्दानी प्रशस्त हुन्छ । उनीहरुले
बेलाबेला साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गर्ने गरेका छन् । साँस्कृतिक
कार्यक्रमको दम यहाँजस्तो नभएपनि त्यसलाई उनीहरुले निरन्तरता दिएकै छन् ।
० अरु
नेपालीको अवस्था चाहिं कस्तो पाउनुभयो ?
- सबै राम्रैसित बस्नुभएको छ । यहाँ
साइकल चढ्न समेत नपाएकाहरुले उता कार चढ्नुहुन्छ । कमाई राम्रै छ ।
० नेपाल र
अमेरिकाबीच के फरक रहेछ ?
- अमेरिकासित नेपाललाई दाँज्नै सकिन्न
। विकास निर्माणमा नेपाल अमेरिकाभन्दा ३ सय वर्ष पछाडि छ । हर कुरा राम्रा छन्
त्यहाँ । सिस्टम छ । अनुशासन छ । काम गर्नेको इज्जत छ । जुन यहाँ पाईंदैन । त्यहाँ
काम गरे अनुसार, मेहनत गरे अनुसार कमाउन सकिन्छ । आम्दानी राम्रो छ । त्यहाँ कुनै
भेदभाव हुँदैन । साना ठूला सबैलाई बराबरी कानुन लाग्छ । राष्ट्रपतिको छोराले कानुन
उल्लंघन गर्दा उसले समेत मुक्ति पाउँदैन । अमेरिकामा काम गर्नुपर्छ । तर यहाँ काम
नगरेपनि बाँच्न सकिन्छ ।
० त्यहाँ र
यहाँको राम्रो र नराम्रो पक्ष के रहेछ ?
- अमेरिकामा सबैभन्दा राम्रो कुरा
सिस्टम हो । जुन नेपालमा छैन । अर्को अमेरिकामा भन्दा नेपालमा प्राकृतिक वातावरण
राम्रो छ । भौगोलिक अवस्था सुन्दर छ । जुन अमेरिकामा छैन ।
० अमेरिकाको
के कुराले तपाईंलाई प्रभावित बनायो ?
- मलाई त्यहाँको सिस्टमले नै प्रभावित
पार्यो । सिस्टमले त्यहाँ मान्छेलाई बाँधेर राखेको छ । बाँधेर भनेको पशुलाई
बाँधेजस्तो, कैदीलाई थुनेजस्तो होइन । अनुशासित वातावरण । जसले कसैलाई पनि भेदभाव
गरेको छैन । मलाई यही कुराले नै बढी छोयो ।
० अमेरिकामा
हुँदै कुनै अविस्मरणीय घटना भोग्नुभयो ?
- भोगें । एउटा साँस्कृति कार्यक्रममा
दिपकराज गिरी, दीपा श्री निरौला र म मिलेर एउटा प्रहसन देखाउँदैथियौं । मैले
भारतीय प्रहरीको भूमिकामा अभिनय गर्नुपर्ने थियो । भारतले नेपालको सीमा मिच्दैछ
भन्ने सन्देशमुलक प्रहसनमा मैले भारतीय प्रहरीको भूमिका निभाएर सीमा अतिक्रमण
गरेको देखाएँ । भारतीय प्रहरीले नेपालको सिमाना मिचेको कुरा एकजना दर्शकलाई साह्रै
सही नसक्नु बनाएछ । मलाई साँच्चैको भारतीय प्रहरी भनेर उहाँले जुत्ताले
हिर्काउनुभयो । पाखुरामा नराम्रोसित जुत्ताले लाग्यो । त्यो जुत्ताले पाखुरामा
बनाएको नीलो दाग एक हप्तासम्म हराएन । साह्रै दुख्यो ।
० के भएमा
अमेरिकामा रहेका नेपालीलाई स्वदेशमा फर्काउन सकिएला ?
- राजनीति स्थिरता र विकास नै ठूलो
कुरा हो । राजनीतिक वातावरण राम्रो भयो भने कोही पनि अमेरिका लगायत विदेशमा काम
गर्न जाँदैनन् । काम गर्ने वातावरण हुनुपर्यो । कामको कदर हुनुपर्यो । त्यस
अनुसार सेवा सुविधा र पारिश्रमिक हुनुपर्यो । उद्योगधन्दा फस्टाउने वातावरण
बन्नपर्यो । नेपाली नेताहरु बिदेश गैरहनुहुन्छ । अमेरिकामा पनि जानुहुन्छ । अरु
केही नभएपनि त्यहाँको विकास निर्माणबाट प्रभावित भएर नेपालमा पनि त्यसकै अनुसरण
गर्न सके धेरै विकास हुन्छ । त्यहाँको जस्तो सिस्टम अनुसरण गर्न नसकेपनि १०
प्रतिशत मात्रै यहाँ ल्याउने हो भनेर धेरै राम्रो हुन्छ । यसो हुन सकेमा कोही पनि
अमेरिका बस्दैन । आˆदै देश र्फकन्छन् । जान खोज्नेहरु पनि रोकिन्छन् ।
No comments:
Post a Comment