खिया लाग्न थाल्यो बाबुरामको ‘मुस्ताङ’मा

ठूलै आशा थियो प्रधानमन्त्री पदमा बाबुराम भट्टराई निर्वाचित हुँदा। सत्ता लुछाचुँडीका लागि बद्‌नाम मधेसवादी दलहरुको वैशाखीमा देशले यति धेरै आशा गरेका व्यक्ति प्रधानमन्त्री हुँदा उनको आफ्नै छविमा आँच आउन सक्छ भनी कसैले टिप्पणी गर्दा त्यसलाई पूर्वाग्रही भनियो। हुन पनि बाबुराम भट्टराईले सुरुमा सबैलाई राम्रो सन्देश दिने खालकै काम गरे। चिल्ला, विलासी गाडी चढ्ने अघिल्ला प्रधानमन्त्रीहरुको परम्परालाई झापड हान्दै नेपालमै बनेको ‘कामचलाउ’ मुस्ताङ गाडी चढे, जनतासँग प्रत्यक्ष अन्तर्क्रिया गरे।
मुग्लिङको होटलको भान्सा र शौचालयसमेत निरीक्षण गरे। पत्रपत्रिकामा आएका समाचारलाई अनुगमन गर्दै आवश्यक कारबाहीको निर्देशन दिए र पछिल्ला दिनमा सर्वसाधारणको गुनासो सीधै सुन्ने ‘हेलो सरकार’ फोन, इमेलसमेत सञ्चालन गरे। यी विषयमा अरु कुनै प्रधानमन्त्रीले नगरेका काम गरे पनि बाबुराम भट्टराईले अरु पनि केही त्यस्ता नराम्रा अरुले नगरेका काम पछिल्ला दिनमा गर्न थालेका छन्, जसले उनको ‘मुस्ताङ’मा खिया लाग्न थालेको भान हुन थालेको छ।
  • ज्यानमारा ठहर गर्दै सर्वोच्चले सजाय तोकेका आफ्ना सभासदलाई माफी दिने निर्णय 
  • इतिहासमा दोस्रो ठूलो मन्त्रिपरिषद् (अझै बढाउने तयारी)
  • सचिवालयमा सबैभन्दा धेरै सल्लाहकार र  कर्मचारी नियुक्त गर्ने रेकर्ड
आजै मात्र पनि हत्याको अभियोगमा सर्वोच्च अदालतले दोषी ठहर गरिसकेका आफ्ना सभासद बालकृष्ण ढुंगेललाई माफी दिने निर्णय गर्नु र मधेसवादी दलमात्र सरकारमा रहेको अवस्थामा पनि मन्त्री र राज्यमन्त्रीहरु थपेर इतिहास कै दोस्रो ठूलो मन्त्रिपरिषद् विस्तार गर्ने काम उनले गरे।   
ज्यानमारालाई माफी दिने निर्णय
सर्वोच्च अदालतले ज्यान मारेको ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाइसकेको छ बालकृष्ण ढुंगेललाई। तर अन्तरिम संविधानमा रहेको यो व्यवस्थालाई टेक्दै प्रधानमन्त्री बाबुराम भट्टराईले उनलाई माफी दिन राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय आज बसेको मन्त्रिपरिषद्को बैठकबाट गराएका छन्।

अन्तरिम संविधानको यो व्यवस्था अनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद्को सिफारिसमा जस्तोसुकै अपराधलाई पनि माफी दिन सिफारिस गर्न सक्छन्। अर्थात् हत्या गर्नुस्, प्रधानमन्त्री बाबुरामलाई विश्वासमा लिनुस्, तपाईँ सबै सजायबाट मुक्त हुन सक्नुहुन्छ। राष्ट्रपति सेरेमोनियल भएकोले मन्त्रिपरिषद्को त्यस्तो निर्णयलाई पालना गर्नुपर्ने हुन्छ। त्यसो त कानुनबाजहरुले बखेडा खडा गर्न यसमा रहेको राष्ट्रपतिले ‘गर्न सक्नेछ’ शब्दलाई लिएर नगर्न पनि त सक्ने स्वविवेकीय अधिकार दिएको छ नि भन्ने तर्क गर्न सक्लान्। तर सेरेमोनियल राष्ट्रपतिले सामान्यतया विवादमा आउने काम गर्दैनन्। कि प्रधानसेनापति रुक्माङ्गद कटवाल बर्खास्त गर्ने जस्तो केस हुनुपर्‍यो, नभए राष्ट्रपतिले यसमा केही गर्लान् जस्तो देखिन्न।
माओवादी हुँदैमा कानुन नलाग्ने?
सबैभन्दा पहिला ओखलढुंगा क्षेत्र नम्बर २ बाट निर्वाचित यी माओवादी सभासद बालकृष्ण ढुंगेललाई के मुद्दा लागेको हो भन्ने बारेमा प्रष्ट होऔँ। युद्धका बेला भएको घटना हैन यो, यो व्यक्तिगत र पारिवारिक रिसइबीका कारण भएको हत्याको घटना हो, जसलाई जबर्जस्ती राजनीतिक रङ दिन खोजिएको छ। सबै कुरा थाहा पाउनलाई हामीलाई १३ वर्ष अगाडि जानु पर्ने हुन्छ। अर्थात् २०५५ साल। यही सालको असार १० गते ओखलढुंगाको तारकेराबारीमा उज्जनकुमार श्रेष्ठको गोली हानी हत्या गरिएको थियो। र, लाशलाई कोशीमा बगाइएको थियो।
उज्जनले रेनुका पौडेललाई कान्छी स्वास्नी बनाएर भित्र्याएकी थिइन्। त्यो रिस रेनुकाको माइती पक्षलाई थियो। त्यही रिसमा रेनुकाका दाजु डोरबहादुर र थलबहादुर, बालकृष्ण ढुंगेल, पुष्कर गौतम र अरू केही सहयोगीले त्यो दिन उज्जनको हत्या गरेको थियो। प्रत्यक्षदर्शीका रुपमा उज्जनसँगै गएका दुई भरिया थीरबहादुर खत्री र रामबहादुर श्रेष्ठले त्यो दिन बालकृष्ण ढुंगेलले गोली हानेको बयान अदालतमा दिएपछि ओखलढुङ्गा जिल्ला अदालतले २०६१ वैशाख २८ गते उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। फैसलापछि करिब आठ वर्ष जेल पनि बसे उनी। यो फैसलाको विरोधमा पुनरावेदन गरेका बालकृष्णलाई पुनरावेदन अदालत राजविराजले २०६३ असार ११ गते सफाइ दिएको थियो। त्यसपछि अन्तिम फैसलाका लागि सर्वोच्च अदालत पुगेको यो मुद्दामा २०६६ पुस १९ गते जिल्ला अदालतकै निर्णय सदर गर्दै उनलाई दोषी ठहर गरेको थियो। कानुनी राजलाई मान्ने हो भने सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्थ्यो र बाँकी सजायँ भोग्न तत्काल गिरफ्तार हुनुपर्थ्यो। तर माओवादी सभासद भएकै आधारमा उनी कानुनभन्दा माथि भए, उनलाई प्रहरीले पक्रेन। अब माफी दिन बाबुराम सरकारले गरेको निर्णय राष्ट्रपतिले सदर गरेपछि उनी कानुनी पञ्जाबाट मुक्त हुनेछन्।
यही घटनामा संलग्न अर्का व्यक्ति पुष्कर गौतम पनि कानुनभन्दा माथि नै भए। हत्याका मतियार भनिए पनि उनी फरार रहे। १० वर्षसम्म काठमाडौँमा बसेर पत्रिकामा स्तम्भ लेख्दै रहे, पुलिसले समातेन। बीचमा बेलायतमा पढ्न पनि गए। अहिले भारतको नयाँदिल्लीमा बस्दा रहेछन्।
उज्जनकी दिदी साबित्रीको भनाइ छ- बालकृष्ण ढुंगेल उज्जनको हत्यापछि मात्र माओवादी पार्टीमा प्रवेश गरेका हुन्। त्यसअघि उनी सेनाको जागिर छाडेर बसिरहेका थिए। यदि यो भनाई सही हो भने हत्यापछि कानुनबाट बच्न मात्र उनले माओवादी शरण खोजेका हुन्।
हत्याको उजुरी प्रहरीलाई नगर्न माओवादीले नगर्न धम्की दिएको रहेछ। तर,दाजु गणेशकुमारले उजुरी गरिदिए। त्यसपछि यिनै बालकृष्णले गणेशलाई पनि मार्ने धम्की दिँदै भाषण गर्दै हिँडेको साबित्री बताउँछन्। नभन्दै, २०५९ मंसिर ६ गते बालकृष्णले नै मेरो भाइको हत्या गरेको हो भनी किटानी जाहेरी दिने दाजु गणेशकुमार श्रेष्ठको रामेछाप चाँगुटार बजारमा गोली हानी हत्या भयो। परिवारले गणेशको हत्यामा समेत ढुंगेल नै संलग्न रहेको दाबी गर्छ। तर घटनालगत्तै जेठा दाइले गणेशकुमारलाई मार्नेविरुद्ध किटानी जाहेरी दिँदा पनि प्रहरीले अझै मुद्दा दर्ता गर्नै मानेको छैन। अब झन् बाबुराम सरकारबाट माफीको टीका पाएपछि यो मुद्दा के दर्ता होला र 
source: Mysansar.com

No comments:

Post a Comment