जनआन्दोलनमा कलंकीमा गोली हान्नेलाई बाबुरामको बढुवा (फोटो फिचर सहित)


सोतः माइसंसार डट कम
kalanki goli kandaधन्य नेपालको दण्डहीनता! जे गर्नेलाई पनि यहाँ दण्ड हुन्न। जनआन्दोलन २०६२/६३ मा कलंकीमा प्रत्यक्षदर्शीहरुले अझै बिर्सेका छैनन्, वैशाख ७ को त्यो घटना। सात राजनीतिक दलहरुले काठमाडौंमा चक्रपथ घेराउ आह्वान गरेका थिए। त्यो दिन सशस्त्र प्रहरीले हानेको गोलीबाट तीन जनाको मृत्यु भएको थियो। ५ सय भन्दा बढी आन्दोलनकारी घाइते भएका थिए। राईले गोली हान्दै गरेको राजेन्द्र मानन्धरले खिचेको यो फोटो निकै चर्चामा आएको थियो।



त्यतिबेला कलंकीको कमान्ड सम्हालेका थिए तत्कालीन एसएसपी दुर्जकुमार राईले। त्यो दिन त्यहाँ ३ जनाको ज्यान गएको थियो। उनले गोली हान्दै गरेको फोटो सञ्चारमाध्यममा खुबै छाएको थियो। उनले हानेकै गोलीले घाइते भएको भन्ने आन्दोलनकारीहरु अझै पनि छन्।
यो त्यतिबेलाको खबर। अब आजको खबर सुन्नुस्- महान क्रान्तिकारी पार्टी एकीकृत नेपाल कम्युनिस्ट पार्टीका महान नेता बाबुराम भट्टराईको सरकारले उनै राईलाई बढुवा गरेको छ। आज बिहान प्रधानमन्त्री भट्टराईको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले दुर्जकुमार राईलाई सशस्त्र प्रहरीको एआइजी पदमा बढुवा गरेको हो।
त के भो, माओवादीका पनि कति ज्यादति गर्नेहरुलाई पनि त कारबाही भएको छैन। यो माओवादीविरोधीको कुरा। माओवादीले द्वन्द्वकालमा गरेका ज्यादतिहरु र कारबाहीको कुरा उठाउँदा माओवादी समर्थकहरु उफ्रने गर्छन्, हामीलाई मात्र कारबाही? उनीहरुलाई चैँ केही नहुने!
हो, हामी यसरी नै एकअर्कामाथि दोष थोपर्दै बस्छौँ र दण्डहीनता यसरी नै फैलँदै जान्छ। जब आफूलाई र आफू निकटका कसैलाई पर्छ, तब थाहा हुन्छ, कस्तो हुन्छ पीडा।
बाबुराम सरकारले उनलाई कारबाही गर्न सक्दैन। उनलाई कारबाही गरे उनले त आदेश पालना गरेका मात्र हुन्, उनीभन्दा माथिका लागि कारबाही गर्नुपर्छ भन्ने कुरा आउँछ। माथिको कुरा गरेपछि उनीहरु पनि तर्सनुपर्छ। किनभने त्यसो गरेमा माडीदेखि द्वन्द्वकालमा भएका अरु ज्यादतिका लागि नेतृत्वको हिसाबले उनीसम्म पनि कुरा तन्किन्छ। त्यसैले हामी जनताले टुलुटुलु हेरेर बस्न बाहेक केही गर्न सक्दैनौँ।
आन्दोलन दमनको छानबिन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश कृष्णजंग रायमाझीको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गरिएको थियो। आयोगको सिफारिशमा २०६३ बैशाख २९ मा बसेको मन्त्रिपरिषद् वैठकले नौ उच्च सुरक्षा अधिकारीलाई निलम्बन गरेको थियो जसमा राई पनि थिए। नेपाल प्रहरीका महानिरीक्षक श्यामभक्त थापा, अतिरिक्ति महानिरीक्षक त्रय राजेन्द्रबहादुर सिंह, रूपसागर मोक्तान, कृष्ण बस्नेत, सशस्त्र प्रहरीका महानिरीक्षक सहवीर थापा, सहायक महानिरीक्षक रविराज थापा, एसएसपीद्वय माधव थापा र दुर्जकुमार राई तथा राष्ट्रिय अनुसन्धान विभाग प्रमुख देवीराम शर्मा निलम्बनमा परेका थिए। तर यो त सब नाटक थियो। कसैलाई पनि केही गर्न सकिएन।
तर पनि त्यो दिन कलंकीमा भएको हत्याकान्डलाई बिर्सन सकिँदैन। हेरौँ त्यतिबेलाको ब्लग-

कलंकी हत्याकाण्डः भिडियो, फोटो फिचर

April 20th, 2006
01
कलंकीको सडकमा गोली लागी शहीद भएका एक प्रदर्शनकारी। के शहीदको सपना साकार होला ?
कलंकीमा बिहीबार भएको हत्याकाण्डका भिडियो र फोटो म यहाँ राख्ने प्रयास गर्दैछु। सशस्त्रका एसएसपी दुर्जकुमार राईको कमाण्डमा रहेको सुरक्षा फौजले आज त्यहाँ नरसंहार गरेको रहेछ। स्थलगत रिपोर्टहरु सुन्दा त्यहाँ धेरै मान्छे मरेको जस्तो लागेको छ। यो मान्छे मर्नुमा सरकार नै दोषी छ। शान्तिपूर्ण आन्दोलन गर्न लागेका बेलामा बित्थामा कर्फ्यु लगाएर नरसंहार निम्त्याउने अरु कोही हैन, सरकार नै हो। दलहरुले शान्तिपूर्ण रुपमा चक्रपथमा पैदल यात्रा गर्थे। उनीहरुले चक्रपथभित्र आउने भनी भनेका पनि थिएनन्। आउन लागेको बेला बरु गोली हानेको भए उसले आफ्नो कार्यको बचाउ गर्ने बहाना हुन्थ्यो। तर उसले सीधै कर्फ्यु लगाएर नरसंहार निम्त्याएको छ। बाँकीका लागि भित्र आउनुहोला।

कलंकीमा आन्दोलनकारीहरुलाई अन्धाधुन्ध लाठिचार्ज गरिरहेका प्रहरीहरु।
आजको घटनाले मलाई सबैभन्दा डर सुरक्षा स्थितिलाई लिएर भएको छ। यसरी मान्छे भकाभक मर्न थालेपछि मान्छे स्वभावतः आक्रोशित हुन्छ र यसको रिस पोख्ने काम प्रहरीमाथि नै हुनसक्छ। ०४६ सालमा पनि कति प्रहरीलाई जनताले कुटीकुटी मारेका थिए। प्रहरी भनेका जनताका सुरक्षाका लागि हुनुपर्ने हो, उनीहरुलाई मार्नका लागि हैन। अब यदि केही गरी यो आन्दोलन सफल भयो भने पनि त्यस अवस्थामा प्रहरी र नागरिकको दूरी एकदम बढ्नेछ। धमिलो पानीमा माछा मार्नेहरु पनि हुनेछन् र उनीहरुले प्रहरीविरुध्द कारबाही गर्न उक्साउने छन्। त्यसपछि एकदमै अव्यवस्था हुनसक्छ। सहरमा लुटपाट मच्चिन सक्छ। तर त्यहाँ त्यसलाई रोक्न प्रहरी हुनेछैन।
आजै वनस्थलिमा भएको घटनाले यस्तो डरलाग्दो स्थितितर्फ उन्मुख भइसकेको देखिएको छ। त्यहाँ एक जना प्रहरीको वर्दी च्यातेर नराम्रोसँग कुटपिट गरियो रे। प्रहरी भनेको जनताको सुरक्षाका लागि हो भनेर प्रहरीले बुझ्नुपर्छ। प्रहरीलाई बुझाउनु पर्छ। रक्तपातपूर्ण आन्दोलन कसैको हितमा हुँदैन। प्रहरीलाई लाठी र अश्रुग्यास अनि गोली नचलाउनका लागि आन्दोलनकारीहरुले प्रोत्साहन गराउनु पर्छ- उनीहरुलाई फूल दिएर होस् कि उनीहरुको पक्षमा नारा लगाएर होस्। उनीहरुलाई यस्तो वातावरण तयार पारिदिनुपर्छ कि उनीहरुलाई माथिकाले ठोक गोली भनेर आदेश दिँदा पनि उनीहरुले नाईँ भन्न सकून्। त्यसका लागि नेतृत्व बलियो हुनुपर्छ। तर यो भीडमा नेतृत्वको अभाव छ। यो भीड आफै उत्तेजित छ र अपशब्द प्रयोग गरी प्रहरीलाई उत्तेजित बनाउने प्रयास पनि भइरहेको हुन्छ। त्यसो गर्न भएन। उनीहरुलाई जनताको पक्षमा ल्याउने प्रयास हुनुपर्‍यो। तर कसले बुझ्ने यो कुरा ? यो कुरा नबुझ्दा अब भोलि फेरि कतिको ज्यान जाने हो ?
अब जाउँ सबैभन्दा पहिला भिडियो ब्लगतर्फ। कर्फ्यु लागेका कारण म घर बाहिर निस्किनँ। घर मै बसेर तपाईँहरुका लागि सकेसम्म कुनै पनि खबर थाहा पाउने बित्तिकै अपडेट गर्दै बसेँ। शायद नेपालका कुनै पनि मिडियाले त्यसो गरेका थिएनन्। होला। आफ्ना केही साथीहरुसित फोन सम्पर्क गरी अडियो ब्लग पनि बनाएँ। घरैमा बसे पनि आज निकै व्यस्त भएँ म।
तलको भिडियो ब्लग कलंकीमा गोली चलेपछिको हो। कलंकीमा गोली चलेको समाचार कुनै पनि मिडियामा आइसकेको थिएन। तर कलंकीबाट लगातार एम्बुलेन्सहरु दौडेको दौडेकै थिए। त्यही बेला यो सानो भिडियो खिचेको हुँ।

ढुंगाको जवाफ गोली ! वाह कस्तो न्याय !

धादिङबाट पैदल काठमाडौं आएका आन्दोलनकारीलाई नागढुंगामा रोक्दै प्रहरी।

सशस्त्र प्रहरी ट्रकबाटै हतियार तेर्स्याउँदै।

सशस्त्रका एसएसपी दुर्जकुमार राई आन्दोलनकारीतर्फ हतियार तेर्स्याउँदै। उनैको कमाण्डमा कलंकीमा संयुक्त सुरक्षा फौज खटिएको थियो।

कलंकीका एक स्थानीय बासिन्दा आफ्नो घरमा लागेको गोलीको प्वाल देखाउँदै।

आज कलंकीमा रबरको मात्रै हैन, धातुको गोलीसमेत चलेको थियो।

घटनास्थलमा बरामद गरिएका आन्दोलनकारीका हाडका टुक्रा।

प्रहरीले निर्मम तवरले कुटी-कुटी मारेका एक आन्दोलनकारी।

कर्फ्यु तोड्न थानकोटतिरबाट आएको हजारौंको जुलुस नैकाप पुग्दा।

प्रहरीले घाइतेहरुको प्राथमिक उपचारमा संलग्न चिकित्साकर्मी शोभा गौतमलाई समेत लाठी प्रहार गरी घाइते बनाइदियो।

कलंकीमा तैनाथ गरिएको सेनाको अत्याधुनिक ट्याङ्क।
अब केही घाइतेहरुका फोटो-
सबै फोटो सौजन्यः इन्सेक

No comments:

Post a Comment