संविधानसभाको ६ महिने खड्गो टारिसकेपछि प्रधानमन्त्री बाबुराम भट्टराई अब कम्तीमा ६ महिना कसैले हल्लाउन नसक्ने निष्कर्ष सुनाउन व्यस्त छन्। उनले आफू निकटस्थ नेता कार्यकर्ता र व्यूरोक्रेसीलाई मात्र होइन पत्रकारहरुलाई समेत अलग अलग रुपमा भेटेर सबै परिस्थिति आफ्नो काबुमा आइसकेकाले यो सरकार नढल्ने बताएका छन्। सकेसम्म कांग्रेस र एमालेलाई साथ लिएर सरकार पुनर्गठन गर्ने, नत्र लोभीपापीहरुलाई नै साथमा लिएर भने पनि शान्ति प्रक्रिया र संबिधान निर्माणको काम टुंगोमा पुर्याउने बाबुरामले बताएका छन्।
मधुमास पुगेकै दिन बाबुरामले केही मिडियाकर्मीहरुबीच आफूलाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको समेत समर्थन रहेकाले कसैले हल्लाउन नसक्ने रहस्यमय अभिव्यक्ति समेत दिएका छन्। अर्कोतिर भारतीय संस्थापन पक्ष निकटकै व्यक्तिहरुले चाँडै नै कांग्रेस–बाबुराम नेतृत्वकै सरकारमा सहभागी हुने र उसलाई गृह, अर्थ र रक्षा लगायतका मन्त्रालय दिने चर्चा पनि चलाउन थालिएको छ। यसो हुँदा मधेशी मोर्चा र साना दलका धेरै मन्त्रीहरुले हात धुनुपर्ने छ। एमालेलाई भने ''खाए खा नखाए घिच'' भन्ने नीति अपनाउने रणनीति बनाइएको छ। कांग्रेसलाई लिएर सरकारलाई ढुक्कसँग चलाउने र शान्ति प्रक्रिया तथा संविधान निर्माणको काम टुंग्याउने योजनामा भारतीय पक्षले भूमिका निर्वाह गर्न थालेको छ।
उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा बादलले नेतृत्व गरेको पार्टीको एउटा ठूलो पंक्तिले बाबुरामलाई अस्वीकार गरे पनि अध्यक्ष प्रचण्डले बाध्यताबस काँध थापेका कारण बाबुराम भट्टराई सरकार छाड्नुपर्छ भन्ने मनस्थितिमा छैनन्। हुन त बैद्य र बादलसँग बाबुराम सरकार ढाल्न पुग्ने सभासदहरुको संख्या छ, तर उनीहरु अहिले बाबुरामाथि नैतिक प्रश्नमात्र उठाइरहेका छन्। वैद्य समूहलाई सरकार बाहिरै राखेर जबर्जस्ती पेल्न खोज्दा पनि वैद्य पक्ष उत्तेजित बनेको छैन। सरकारको एक सय दिन मंसिर १८ गते पुगेको छ।
यस हिसाबले प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्रीको रुपमा पहिलो मधुमास पूरा गरेका छन्। राजनीतिमा कुनै पनि सरकारको १ सय दिनलाई मधुमास अर्थात् हनिमुन अवधिका रुपमा विश्लेषण गर्ने चलन छ। संसदीय संस्कृतिमा विपक्षीहरुले पनि मधुमास अवधिमा सरकारको विरोध नगरी काम हेर्ने प्रचलन रहेको छ। तर कथित सहमतीय प्रणालीमा गएका नेपालका राजनीतिक दलहरुमा पछिल्ला दिनहरुमा मधुमास पर्खिने धैर्यता गुमिसकेको छ। यद्यपि संविधानसभा निर्वाचनपछिका प्रधानमन्त्रीमध्ये बाबुरामले अरुको भन्दा बढी नै सहयोग, समर्थन र सकारात्मक साथ पाए।
जसका कारण जनअपेक्षा विपरीत दर्जनौं गल्ती गर्दा पनि शान्तिको मूल्यमा बाबुरामलाई अझै पनि सबैतिरबाट साथ मिलेको छ। हुन त शान्ति प्रक्रियामा झलनाथ खनाललेनै ब्रेक थु्र गर्नसक्ने थिए तर अन्तिम घडीमा माओवादीबाट धोखा खाएपछि राजीनामा दिन बाध्य भएका खनालले बाहेक यो सरकारको कटुआलोचना अरु विपक्षीले गरेका छैनन्। यतिसम्म कि बाबुरामको राजीनामा पनि माओवादी बाहेक अरुले मागिसकेका छैनन्। यस हिसाबले बाबुरामले अभूतपूर्व समर्थन पाएर पनि जनअपेक्षा अनुसार काम गर्न नसकेको आफैंले स्वीकार गरेका छन्।
आर्किटेक्ट इन्जियनीयर बाबुराम भट्टराई माओवादी उपाध्यक्षका रुपमा जति लोकप्रिय थिए, प्रधानमन्त्री बनेपछि उनको लोकप्रियता घट्ने क्रम जारी छ। सबैलाई हेरियो पटक पटक, बाबुरामलाई हेरौं एकपटक भन्ने जमात माओवादीमा भन्दा बढी बाहिर थियो। राजनीति पटक्कै नरुचाउने र यसलाई फोहोरी खेल हो भन्नेहरु पनि बाबुरामका जबर्जस्त प्रशंसक थिए। त्यसैले आमचुनावदेखि हरेक जनमत सर्वेक्षणहरुमा बाबुराम समकालीन नेताहरुमध्ये सबैभन्दा बढी मत पाउनेमा नेतामा दरिए। पार्टीभित्र तुलनात्मक रुपमा कमजोर भए पनि बाहिरी जनमत र अध्यक्ष पुष्पकमल दाहालविरुद्धको धोबीघाट गठबन्धनका कारण बाबुराम प्रधानमन्त्री बन्न सफल भए। हुन त धोबीघाट गठबन्धन अध्यक्ष प्रचण्डलाई सांगठानिक अधिनायकवाद र आर्थिक अराजकताबाट रोक्नका लागि बनेको प्राविधिक गठबन्धन थियो। बिचारमा पटक्कै नमिल्दा नमिल्दै पनि सांगठानिक सवालमा मोहन वैद्य, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल एकजुट भएका थिए। बाबुरामलाई प्रधानमन्त्री बनाउने सूत्रपात पनि धोवीघाट बैठकबाटै भएको थियो। तर प्रधानमन्त्री भएपछि बाबुरामले धोवीघाटलाई बाइबाई गरेपछि स्वभाविक रुपमा त्यसको एक पक्ष बाबुरामसँग असन्तुष्ट बनेको छ।
पार्टीभित्र जे भए पनि जनताले सबैभन्दा बढी रुचाएका बाबुरामबाट देशले सबैभन्दा बढी नै अपेक्षा पनि गरेको थियो। त्यसमाथि अर्थमन्त्री भएका बेला धेरै राम्रो काम गरेर क्षमता देखाएकाले पनि बाबुरामलाई अभूतपूर्व समर्थन मिल्यो। प्रधानमन्त्री भएपछि पनि जनताबाट सबैभन्दा बढी साथ तथा समर्थन पाउने भाग्यमानी पनि बाबुराम नै थिए। उनले शुरुमा जनतालाई राहत दिने खालका कार्यक्रम ल्याउने प्रयास गरे। शान्ति प्रक्रियामा महत्वपूर्ण फड्को मार्न सातबुँदे सहमति भयो। जसले गर्दा बाबुरामको वाहवाही झन् बढ्यो। यस हिसाबले सय दिनमा बाबुरामले केही गर्न नसके पनि जनतामा आशा जगाउन सफल भएका थिए।
तर मितव्ययी नेताका रुपमा जनतामा स्थापित बाबुरामले इतिहासमै सबैभन्दा ठूलो आकारको मन्त्रिपरिषद् गठन गरेर धेरैको अपेक्षामा पानी फ्याँकिदिए। प्रसंगबस अर्को अर्थ नलागेमा नेपाली जनताबीच ब्राण्डेड भ्रष्टाचारीहरुलाई मन्त्रिपरिषदमा महत्वपूर्ण जिम्मेवारी दिएर सरकार चलाउनु उनको ठूलो गल्ती थियो। उनले यसमा आफ्नो अडान राख्न नसकेको मात्र होइन, इतिहासमै सबैभन्दा भ्रष्ट सरकारको नेतृत्व गरिरहेका छन् भन्दा बढी नहोला। यतिसम्म जनताले स्वीकार गरे पनि बिभिन्न हत्या, अपहरण, भ्रष्टाचार र अनैतिक क्रियाकलापमा परेकाहरुलाई मन्त्रिपरिषद्मा लर्कन लगाएर उनले इतिहासकै जम्बो सरकार बनाइदिए। यसले गर्दा बाबुरामको मुस्ताङ गाडीमा कहिल्यै नमेटिने हिलो छ्यापिदियो।
विपक्षीहरुसँग सहमति गरेर शान्ति र संविधानलाई टुंग्याउने बेलामा उनले सर्वोच्च अदालतले दोषी ठहर गरेका सभासद बालकृष्ण ढुंगेलको सजाय माफीको निर्णय गराएर अनावश्यक विवादमा तानिए। विवादास्पद विप्पा सम्झौतालाई पुष्टि गर्न दोहोरो कर हटाउने सम्झौतामा हस्ताक्षर गराउनु बाबुरामको सफलता हो। तर सर्वोच्च अदालतले विप्पालाई संसदबाट अनुमोदन गराएरमात्र लागु गर्न अन्तरिम आदेश दिएपछि यसमा पनि सरकार संकटमा परेको छ। यसअघि संविधानसभाको म्याद थप्दा तत्कालीन प्रधानमन्त्रीहरुले राजीनामा दिनुपरेको थियो। तर बाबुरामको हकमा दुई पटक संविधानसभाको म्याद थप हुँदा पनि उनको राजीनामा शर्तका रुपमा आएन। यसमा उनले दुई ठूला विपक्षी नेपाली कांग्रेस र नेकपा एमालेलाई धन्यवाद दिनैपर्छ।
आफ्नै पार्टीको एउटा ठूलो हिस्साले उनको राजीनामा मागिरहेका बेला विपक्षीहरुले शान्ति र संविधानको मूल्यमा देखाएको धैर्यतालाई बाबुरामले बुझ्न जरुरी छ। अब बाबुराम सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप दिने कि विकल्प खोज्ने भन्नेमा बहस शुरु भइसकेको छ। यो अवस्थामा बाबुरामले शान्ति प्रक्रियालाइ टुंग्याउने र ६ महिनाभित्रै संविधान जारी गर्ने काममा अग्रसरता देखाएमा उनले गरेका अन्य गल्ती र कमजोरीहरु क्षम्य हुन सक्छन्। सय दिनमा बाबुरामबाट जनता निराश भएका छन्। आफूले धेरै अपेक्षा गरेका मानिसबाट ती अपेक्षा पूरा नहुँदा निराश हुनु स्वभाविक पनि हो। बाबुरामले जनतालाई शान्ति र संविधान दिन सके भने उनलाई जनताले फेरि पनि एक नम्बरमै राख्नेछन्। नत्र इतिहासले कसैलाई पनि छाडेको छैन।
No comments:
Post a Comment