सुन्दै अचम्म लाग्ने । सात फिट लामो टुप्पी हुन्छ भनेर । तर पर्वत बिरुवाबारी १ का ८० वर्षीय टंकनाथ न्यौपानेको टुप्पी भने सात फिट लामो छ । २५ वर्षको उमेरदेखि पाल्न सुरु गरेको टुप्पी ५५ वर्ष बुढो भइसकेको छ ।
वृद्ध अवस्था पारसँगै आँखाको ज्योति गुमाएका उनी हातले छामेर टुप्पीको स्याहारसुसार गर्छन । शिवजीका भक्त न्यौपानेले टुप्पी लामो भएकाले जनैले बाँधेर हिँड्ने गरेका छन् । त्यसो त उनले दशकौंदेखि टुप्पी पालेको खबर सुनी हेर्न र टुप्पीको फोटो खिच्न घरमा आगन्तुकहरू आइरहने बताए ।
'मैले नत नेताको बानी सुध्रियोस्, न समयमै संविधान बनोस् भनेर टुप्पी पालेको हो,' उनले भने, 'आफू ब्राह्मण समुदायको भएकाले अस्तित्व जोगाउनकै लागि पालेको हुँ । उनका अनुसार आफूलाई ब्राह्मण भन्नेमध्ये केहीले टुप्पी पाल्ने गरे पनि अधिकांशले छाडिसकेका छन् ।
न्यौपानेका श्रीमती र ३/३ जना छोराछोरी छन् । 'सुरुमा त कपालसहित टुप्पी पालेको थिएँ,' उनले भने, 'कपाल सबै झर्दै गयो, अन्तिममा टुप्पी मात्र बाँकी रह्यो ।' उनले सबै समुदायको आ-आफ्नो जातीय परिचय दिने माध्यम भएको र आफूले पालेको टुप्पीले ब्राह्मणको परिचय दिएको बताए । उनी वर्ष दिनमा एक पटकमात्र टुप्पी फुकाएर नुहाउने गर्छन् । अन्य समयमा दैनिक नुहाए पनि टुप्पीलाई सामान्य रूपमा पखाल्छन् ।

टुप्पी लामो भए पनि न्यौपाने कहिल्यै कोर्दैनन् । 'सुरुमा त परिवारले किन यति लामो टुप्पी पालेको भनेर कराउने गर्थे,' उनले भने, 'हाम्रो परिचय यसैमा छ किन काट्नु पर्यो भन्दै सधैं एउटै जवाफ दिँदै आए, हिजोआज त कराउन छाडे ।' भेट हुने सबैजसोले पाल्नुको कारण सोध्ने गर्छन् ।
'पहिला त हजुरबाको टुप्पी देख्दा डर लाग्ने गथ्र्यो,' नाति सुजनले भने 'अहिले त यसलाई बाँध्ने फुकाउने मैले नै गरिदिन्छु ।' उनले हजुरबाले आँखा नदेख्ने भएकाले टुप्पी र हजुरबाको रेखदेख गर्ने गरेको बताए ।
(source: ekantipur)
(source: ekantipur)
No comments:
Post a Comment