नेपालीहरूको महान् पर्व बडादसैँमा घटस्थापनाको दिनदेखि नै विभिन्न शक्तिपीठहरूमा पूजा अर्जना गरिन्छ । देशभर रहेका सयौं मठमन्दिरहरुमा नवरात्रमा श्रद्धालु भक्तजन विशेष जमघट हुने गर्दछ । यहाँ केही मुख्य मुख्य शक्तिपिठबारे चर्चा गरिदै छ जहाँ नवरात्रभरि श्रद्धालु भक्तजनको घुइँचो लाग्छ ।S3E8AS3VRWTH
श्री गुहृयेश्वरी
काठमाडौँ उपत्यकामा बागमती नदीको दक्षिणी किनारमा यो मन्दिर छ । यस स्थानमा सर्वप्रथम तेत्तीसकोटी देवताहरूले पूजा आराधना गरेको विश्वास पनि रहन्छ । यसो त यहाँ अघिपछि पनि भक्तजनको बढी नै उपस्थिति रहन्छ । यहाँ देवीको कुनै मूर्ति छैन । सतीदेवीको गुहृय पतन भएको भनिएको स्थानमा मन्दिरको गर्भग्रह रहेको छ । त्यहाँ एउटा सानो दुलो मात्र छ जहाँ भक्तजनले कलश स्थापना गरी पूजा गर्दछन् ।
श्री भैरवी
काठमाडौँ जिल्लाको गोकर्ण क्षेत्रमा अवस्थित यस स्थानमा सतीदेवीको बायाँ कान पतन भएको विश्वास गरिन्छ । यस स्थानमा सर्वप्रथम विषकुम्भहरूले पूजा आराधना गरेको मानिन्छ । बडादसैँको अवसरमा घटस्थापनादेखि नै श्री भैरवीको विशेष पूजा आराधना गरिन्छ ।
श्री जालपादेवी
नुवाकोट जिल्लाको सदरमुकाम विदुरदेखि आठ किलोमिटर दक्षिणमा त्रिशूली नदीको किनारामा रहेको देवीघाटमा यो देवीको मन्दिर छ । यस स्थानमा सतीदेवीको तल्लो ओठ पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम कामधेनु गाईले पूजा आराधना गरेको मानिन्छ । पृथ्वीनारायण शाहको दाहसंस्कार यही मन्दिरको घाटमा गरिएकोले नेपालको इतिहासमा यस स्थानको विशेष महत्व रहेको छ । यहाँ घटस्थापनादेखि नै भक्तजनको घुइँचो लाग्दछ ।
श्री दन्तकाली

श्री ज्वालापादेवीः
यस देवीको मन्दिर दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकादेखि पाँच किलामिटर पश्चिम र छामगाम खोलाको किनारामा छ । यस स्थानमा सती देवीको निधार पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम हनुमानले पूजा आराधना गरेको विश्वास गरिन्छ भने घटस्थापनादेखि नै यहाँ भक्तजनको भीड लाग्दछ ।
श्री गलेश्वरी
म्याग्दी जिल्लाको राहुघाटमा कालीगण्डकीको किनारमा अवस्थित यस स्थानमा सतीदेवीको गला पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम पृथ्वीले पूजा आराधना गरेको मानिन्छ भने घटस्थापनाको दिनदेखि नै यहाँ भक्तजनको घुइँचो हुन्छ ।
श्री वागेश्वरी
यो देवीको मन्दिर बाँके जिल्लाको नेपालगञ्जमा अवस्थित छ । यस स्थानमा सतीदेवीको जिब्रो पतन भएको विश्वास गरिन्छ । यस स्थानमा सर्वप्रथम किन्नर गणहरूले पूजा आराधना गरेको मानिन्छ । एउटा ठूलो तलाउको किनारमा अवस्थित यस मन्दिर नयाँ मुलुकका रूपमा बाँके बर्दिया कैलाली र कञ्चनपुर नेपालमा गाभिएपछि मात्रै पत्ता लागेको हो । यहाँ नवरात्रभर भक्तजनको भीड लाग्दछ ।
श्री छत्रेश्वरी
सल्यान जिल्लाको छायाँछत्रमा अवस्थित यस मन्दिर रहेको स्थानमा सतीदेवीको शेष रहेको सबै अङ्ग पतन भएको मानिन्छ । यहाँ सर्वप्रथम अष्ट भैरवले पूजा आराधना गरेकाले यहाँ कुनै पनि अवसरमा बलि चढाइँदैन । यो नेपालका सबै शक्तिपीठहरूमध्ये बलि नचढाइने एकमात्र शक्तिपीठ हो ।
श्री कमलाक्षी
सल्यान जिल्लाकै लक्ष्मीपुरमा श्री कमलाक्षीको मन्दिर रहेको छ । यस स्थानमा सतीदेवीको बायाँ करङ पतन भएको विश्वास गरिन्छ । यस स्थानमा सर्वप्रथम योगमार्गीहरूले पूजा आराधना गरेको मानिन्छ । एउटा पहाडको रूपमा रहेको यस मन्दिरमा करङका आकृतिहरू देख्न सकिन्छ । घटस्थापनादेखि नै यहाँ भक्तजनको घुइँचो लाग्दछ । यीबाहेक काठमाडौँको दक्षिणकाली भद्रकाली, सङ्कटा, शोभा भगवती काभ्रेको पलाञ्चोक भगवती नुवाकोटको भैरवी, गोरखाकाली मनकामनादेवीको मन्दिर आदि स्थानमा घटस्थापनादेखि नै धूमधामका साथ पूजा अर्चना गर्नेहरूको लाम लाग्दछ । घटस्थापनाको दिनदेखि नै विभिन्न देवीहरूको महिमाका बारेमा सप्तराती चण्डी पाठ गर्ने जमराको पूजा गर्ने गरिन्छ । नवौं दिनसम्म विधिपूर्वक पूजा गरेर दशमीको दिन प्रसादको रूपमा टीका लगाइन्छ ।
No comments:
Post a Comment