वरियताक्रममा बढुवा हुने भए राणा साहेव डेढ करोड चाहियोःगृहमन्त्री गच्छादार

gachhadar2उपप्रधानमन्त्रीसहित गृहमन्त्री भएकै दिनदेखि भ्रष्टाचार शून्यमा झार्ने र राजनीतिक हस्तक्षेपमुक्त गृह प्रशासन बनाउने नारा लगाएर देशवासीलाई हँसाउँदै आएका विजयकुमार गच्छदारले नेपाल प्रहरीका एक डीआईजीसँग बढुवाको निम्ति डेढ करोड घुस मागेको समाचार प्राप्त भएको छ। गच्छदारको निकटवर्ती सूत्रले जनाएअनुसार उनले छठ पर्वका दिन कात्तिक १५ गते बेलुका बरियताक्रममा सबभन्दा अगाडि रहेका डीआईजी दिनकरशमशेर राणालाई हरिहरभवनस्थित आफ्नो निवासस्थानमा बोलाएर उक्त रकम माग गरेका हुन्।
नातामा आफ्ना सम्धी पर्ने रौतहटनिवासी वासुदेव रायमार्फत मन्त्रिक्वार्टरमा राणालाई बोलाएर घुस मागिएको हो। उपप्रधानमन्त्रीजीले बोलाउनुभएको भन्दै निवासमा बोलाइएका राणालाई सुरुमा गोप्य कोठामा लगेर गच्छदारले भेटे। भेटमा उनले भने, ‘तपाईं वरिष्ठतामा एक नम्बरमा हुनुहुन्छ होइन? म तपाईंका लागि सक्दो कोसिस गर्नेछु, तपाईंलाई भेट्न भनेर म क्याबिनेटकै बैठकसमेत छोडेर यहाँ उपस्थित भएको छु।’ प्रहरी सङ्गठनभित्र कहिल्यै कुनै प्रकारको विवादमा नपरेका र अति सत्जन मानिने राणा गच्छदारलाई धन्यवाद दिँदै बाहिरपट्टिको कोठामा निस्किए, जहाँ गच्छदारका चिरपरिचित सम्धी राणालाई पर्खिरहेका थिए। सम्धी रायले त्यति नै बेला राणालाई भने, ‘हेर्नुस् डीआईजी साहेव, तपाईंको काम त भइहाल्छ, तर तपाईंले पनि केही गर्नुपर्‍यो नि, उपप्रधानमन्त्रीजीलाई पार्टी चलाउन गाह्रो भइरहेको छ।’ वासुदेव रायका कुरा सुनेपछि राणाले जिज्ञाशा राखे, ‘मैले के गर्नुपर्‍यो त?’ जवाफमा रायले भने, ‘डेढ’ दिनुपर्‍यो। राणाले ‘डेढ’को अर्थ डेढ लाख भन्ने बुझे र भने, ‘बढुवा भए पनि मेरो तलब तीन वर्षमा करिब सात लाख मात्र हुन्छ।’ राणाको कुरा पूरा नहुँदै रायले थपे, ‘म उपप्रधानमन्त्रीज्यूलाई तपाईंबाट डेढ करोड आउँछ भन्ने जानकारी गराऊँ?’ सम्धी रायको त्यस्तो प्रश्नपछि दिनकर राणा अकमक्क परे, के भन्ने के नभन्ने स्थितिमा उनी पुगे। तथापि बल गरेर भने, ‘त्यति ठूलो रकम मैले कहाँबाट ल्याउनु?’ जवाफमा रायले भने, ‘बढुवा हुने हो भने विचार गर्नुस्।’
यसप्रकारको संवादपछि खिन्न हुँदै डीआईजी राणा आफ्नो घर फर्किए। तर गच्छदारले पिछा छोडेनन्। भोलिपल्ट (कात्तिक १६) नै गच्छदारले केही अघि उनले पार्टीमा भित्र्याएका कुख्यात डन गणेश लामालाई जाउलाखेलस्थित दिनकरशमशेर राणाको घरमा पठाए। त्यहाँ उनले एआईजीपीमा बढुवा हुन दुई करोड रुपैयाँ दिनुपर्ने प्रस्ताव राखे। राणाले प्रस्तावमा सहमति जनाएनन्। त्यसपछि लामा कम्तीमा डेढ करोड रुपैयाँ नभए तपाईंको बढुवा हुनेछैन भन्ने जानकारी गराउँदै राणाको निवासबाट बाहिर निस्किए। लामा बाहिरिएको केही बेरपछि नै
नातामा विजय गच्छदारको सालो पर्ने कुख्यात सहदेव कक्षपतिको फोन दिनकर राणाको मोबाइलमा गयो। कक्षपतिले राणालाई सम्झाउँदै भने, ‘हेर्नुस् डीआईजी साहेव यो देश नै यस्तै छ। तपाईंले खर्च नगर्ने हो भने बढुवा हुन मुस्किल पर्ला, त्यसैले डेढ करोड रुपैयाँ खर्च गर्न तयार हुनुहोस्।’ राणाले त्यति ठूलो रकम खर्च गर्न नसक्ने जानकारी गराएपछि ‘सोच्नुस्’ भन्दै कक्षपतिले फोन राखे। राणाले डेढ करोड रुपैयाँ दिएनन्, त्यसैले बरियताक्रममा सबैभन्दा अगाडि भएर पनि उनी एआईजीपीमा बढुवा हुन सकेनन्। बरियताक्रममा तीन नम्बरमा रहेका भीष्म प्रसार्इं र दुई नम्बरमा रहेका नवराज ढकाल एआईजीपीमा बढुवा गरिएका छन्। प्रसाईं र ढकाललाई बिनानगद गच्छदारले बढुवा गरेको विश्वास कसैले पनि गरेका छैनन्। सबैभन्दा वरिष्ठ डीआईजीसँग डेढ करोड मागिएको थियो भने कनिष्टहरूसँग प्रतिव्यक्ति दुई करोडभन्दा कम लिइएको हुन नसक्ने अनुमान स्वतः गर्न सकिन्छ। बालुवाटार सूत्रले जनाएअनुसार मन्त्रिमण्डल बैठकमा अर्थमन्त्री वर्षमान पुनले दिनकरशमशेर राणा बरियताक्रममा अगाडि रहेको हुनाले उनलाई अन्याय गर्न नहुने तर्क गरेका थिए। पुनको कुरा सुन्नेबित्तिकै गच्छदारले कड्किँदै भने, ‘मैले तपाईंहरू कसैको पनि मन्त्रालयको काममा हस्तक्षेप गरेको छैन, मेरोमा किन गर्न खोज्नुहुन्छ? यस्तै हो भने यो ‘कोलिसन’मा बसिरहनुपर्छ भन्ने छैन।’ यसरी गच्छदारले धम्की दिएपछि वर्षमानले पुनः बोल्ने हिम्मत गरेनन्। स्वच्छ छविका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले त सुरुदेखि नै केही बोलेका थिएनन्। एक इमानदार प्रहरी अधिकारीमाथि भएको अन्यायमा बाबुरामले पनि सहमति जनाए। यस प्रकरणले प्रधानमन्त्रीको छविमा नराम्रो धक्का पुगेको महसुस गरिएको छ।
गच्छदारले नेपाल प्रहरी मात्र होइन, सशस्त्र प्रहरीमा समेत नगदलाई आधार बनाएर बढुवा गरेको हुनसक्ने देखिएको छ। लोकतन्त्र स्थापनासँगै चरम अन्यायमा परेका दुर्जकुमार राईलाई न्याय दिँदै एआईजीमा बढुवा गरिनुलाई धेरैले प्रशंसनीय मानेका छन्। न्याय दिलाउने सिलसिलामा राईसँग घुस खाएका छैनन् भने गच्छदारको यो कदमका निम्ति उनको समेत प्रशंसा गर्नुपर्ने हुन्छ। तर, अन्य अधिकृतहरूको बढुवामा भने गच्छदारले ज्यादती गरेका छन्। बरियताक्रमको एक नम्बरमा रहेका डीआईजी कृष्णकुमार तामाङलाई बढुवा गरिएन, तर बरियताक्रममा दशौं स्थानका जीवनकुमार थापा (पूर्वआईजीपी सनत बस्नेतका ज्वाइँ) र आठौँ स्थानका ऋषभदेव भट्टराईलाई भने बढुवा गरेर एआईजी बनाइएको छ।
गच्छदारले बरियताक्रम, इमानदारी, कार्यक्षमता र योग्यतालाई भन्दा नगदलाई बढुवाको प्रमुख आधार बनाएपछि प्रहरी सङ्गठनहरूभित्र निराशा व्याप्त भएको छ। स्वचछ छविका ठानिएका प्रधानमन्त्री बाबुराम भट्टराईले प्रहरी सङ्गठनभित्र उत्पन्न निराशाको निराकरण कसरी गर्नुहोला र अन्यायमा परेकाहरूलाई न्याय कसरी दिनुहोला, प्रतीक्षाको विषय बनेको छ।

No comments:

Post a Comment