चुलियो चपली हाइटको चर्चा

लुटको चर्चा सेलाउन नपाउँदै नेपाली सिनेक्षेत्र फेरि अर्को चलचित्रको चर्चाले तातेको छ। त्यस्तो बजार तताउने चलचित्र हो– चपली हाइट। जसका निर्देशक हुन्, दीपेन्द्र के. खनाल। अघिल्लो साता गीत, पोष्टर तथा टेलर सार्वजनिक गरिएपछि यो चलचित्रको चर्चा चुलिएको हो। हुन त सुटिङ सुरु भएदेखि नै चपली हाइट विभिन्न कारणले चर्चामा आइरहेको छ। यसकोे विषयवस्तु पनि सेक्स साइक्लोजी रहेको छ। चलचित्रको पोष्टरका लागि खिचिएको नायिका बिनिता बरालको 'टपलेस' तस्बिर पत्रपत्रिकामा छापिएपछि धेरैको ध्यान यो चलचित्रप्रति तानिएको थियो। कतिसम्म भने नायिका बरालले पत्रकार सम्मेलन नै गरी सो तस्बिर निर्माता/निर्देशकले आफूलाई झुक्काएर छापेको आरोप लगाएकी थिइन्। र, अहिले सार्वजनिक पोष्टर भने हलिउडको मूभि 'बेसिक इन्स्टिक्ट'को पोष्टरसँग हुबहु मेल खाएकाले चर्चामा आएको छ।

नायक/नायिकाको पोजमात्र होइन्, नाम लेख्ने तरिका पनि 'बेसिक इन्स्टिक्ट'कै जस्तो छ। धेरैले पोष्टरमात्र नभई कथावस्तु पनि सोही चलचित्रसँग मिल्ने अनुमान गरेका छन्। तर, निर्देशक खनाल भने यो आरोपको ठाडो खण्डन गर्छन्। उनले पोष्टर 'पब्लीसिटी स्क्यान्डल' अनुरुप नै जानाजानी कपी गरेको भए पनि कथा भने 'बेसिक इन्स्टिक्ट'सँग कहीँकतै मेल नखाने ठोकुवा गरेका छन्। 'यो चलचित्रको कथा नेपालमै घटेको सत्य घटनामा आधारित छ,' निर्देशक खनाल भन्छन्, 'अरू कुनै चलचित्रसँग मिल्दैन्।' खनालको यो दाबीमा कतिको सत्यता छ? त्यो त फिल्म प्रदर्शन भएपछि नै थाहा होला तर यतिबेला युटुबमा चपली हाइटको टेलेर हेर्नेको संख्या हप्ता दिनमै हजारांै पुगेको छ। त्यसैगरी, सविन राईले गाएको शीर्ष गीतले पनि दर्शक तथा श्रोताको मन जितिरहेको छ। चलचित्रमा अमिर गौतम, बिनिता बराल तथा राज घिमिरे मुख्य भूमिकामा देखिएका छन् भने यो चलचित्र अर्जुनकुमारले निर्माण गरेका हुन्। 










No comments:

Post a Comment