किन पछि हटे मोहन वैद्य?


काठमाडौं । एकीकृत नेकपा (माओवादी)भित्रको द्वन्द्व अहिले केही कम भएजस्तो देखिएको छ। धेरैले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराई मुलुक बाहिर भएकाले असन्तुष्ट मोहन वैद्य पक्षधर मौन बसेको अड्कल गरेका छन्। तर, वैद्य पक्ष अध्यक्ष र प्रधानमन्त्री मुलुक बाहिर भएकाले नभइ मुलुक बाहिरको कुनै शक्तिले केही विषय स्पष्ट पार्ने भनेपछि मौन बसेको बुझिएको छ।अध्यक्ष दाहालले पटकपटक केन्द्रीय समितिको बैठक स्थगित गर्दै शान्ति र संविधानका विवादित विषयमा वैद्य पक्षलाई पाखा लगाउँदै जाँदा पनि मौन बस्नुको रहस्य भने कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय सङ्गठन रिमले पठाएको पत्र भएको बुझिएको छ।
रिमले वैद्यलाई लेखेको पत्रमा पाँचवटा विषयमा स्पष्ट हुन भनिएको थियो। रिम उक्त पत्रपछि वैद्य पक्ष पार्टीभित्र नै सङ्घर्षलाई जारी राख्ने निधोमा पुगेका हुन्। रिमले पठाएको पत्रमा बाबुराम सरकारका बारेमा स्पष्ट हुन पहिलो नम्बर बुँदामा– भट्टराई सरकारलाई राष्ट्रघाती भन्ने तर मधेसी दलसँगको चारबुँदेमा सहमति बनाएर सुरुआतमा समर्थन गर्नुको कारण स्पष्ट पार्ने भनिएको छ। त्यसैगरी दीर्घकालीन जनयुद्ध गर्ने वा शान्तिप्रक्रिया अन्तर्गत नै विद्रोह गर्ने स्पष्ट पार्ने भनिएको छ। जनविद्रोहमार्फत जाने भए आफू र आफ्नो पक्षले शान्तिप्रक्रिया नमान्ने घोषणा गर्ने दोस्रो बुँदामा भनिएको छ। तेस्रो बुँदा माओवादीभित्रको सङ्घर्षमा वैद्य पक्ष बृहत शान्ति सम्झौताभित्र रहेर वा बाहिर हुनेगरी सङ्घर्ष गरिएको स्पष्ट पार्ने भनिएको छ। त्यस्तै अर्को बुँदामा माओवादीभित्र अहिले देखिएजस्तै दुईलाइन सङ्घर्ष भविष्यमा वैद्य पक्षले नयाँ पार्टी बनाउँदा पनि रहने भएकाले भविष्यमा समाधान गर्ने उपाय स्पष्ट पार्ने भनिएको छ।

रिमको यो पत्रपछि वैद्य पक्षले पार्टीभित्रको अन्तरसङ्घर्ष कायम राख्ने तर संविधानसभा भएसम्म पार्टी विभाजन नगर्ने मनस्थितिमा पुगेको बताइन्छ। विशेषगरी वर्षमान पुनले रिमको उक्त पत्र सार्वजनिक गरिदिएपछि वैक्ष पक्ष सङ्कटमा परेको हो। प्रचण्ड निकटका पुनले नियतवश सो पत्र सार्वजनिक गरेका हुन्। पछिल्लो समयमा वैद्यपक्ष सरकार, संसद् र पार्टीका निर्णय कार्यान्वयनमा बाबुराम सरकार र अध्यक्ष प्रचण्डलाई असहयोग गर्ने नीतिमा अगाडि बढेको छ। संविधानसभा भएसम्म पार्टी विभाजन गर्दा आफ्नो पक्षमा बहुमत जुटाउन नसक्ने निष्कर्षका साथ सरकार र पार्टी दुवैलाई असहयोग गर्ने जब संविधानसभा रहन्न, त्यो अवस्थामा पार्टी विभाजनसम्म जाने निष्कर्षमा वैद्य समूह रहेको बताइन्छ। माओवादी लडाकू समायोजन र व्यवस्थापनका विषयमा पार्टी संस्थापन पक्षसँग गम्भीर असन्तुष्टी जनाएको छ। 

वैद्य पक्षले पार्टी विभाजन गरेको अवस्थामा अन्तर्राष्ट्रिय कम्युनिस्टको सङ्गठन रिमले असहयोग गर्ने अवस्था देखेपछि मौन बसेको निकट स्रोतले बताएका छन्। विशेषगरी चीनको सहयोगको अपेक्षा गरेको वैद्य पक्षले नेता कृष्णबहादुर महराले आफ्नो टिम छोडेर प्रचण्डको पक्षमा गएपछि सपना चकनाचुर भएको बताइन्छ। चीनसँग नजिक रहेका महरा टिमबाट बाहिरिएपछि उनको स्थानमा कुटनीतिक पहल गर्न सचिव सीपी गजुरेल अघि सरेका छन्। सोही योजना बमोजिम गजुरेल हालसालै बेइजीङ्ग पुगेर चीनीया संस्थापनसँग सम्बन्ध विस्तार गरेर आएका छन्। वैद्य विचारमा स्पष्ट नभएको भन्दै कम्युनिस्टलाई सहयोग गर्ने रीमले असहयोग गर्न लागेको विश्लेषण माओवादीभित्र छ। पार्टीभित्र पनि विचारलाई आधार बनाए पनि सत्ताको बार्गेनिङ प्रमुख उद्देश्य रहेको माओवादीदेखि विदेशी सहयोगीसमेतले विश्लेषण गरेका छन्। बाबुराम सरकारका निर्माण अगाडि धोविघाट मोर्चा बनाएका वैद्यलाई प्रधानमन्त्री भट्टराईले धोका दिएपछि प्रचण्डसँग अर्थ र परराष्ट्रसहित उपप्रधानमन्त्री मागेका थिए। तर, प्रचण्डले दुवै मन्त्रालय नपाएपछि अझै बिच्किएको बताइन्छ। 

पार्टीको अन्तरसङ्घर्ष चर्केपछि पार्टी विभाजनमा सहयोग जुटाउन गजुरेललाई चीन गएको माओवादी सुत्र वताउँछ। चीनको कम्युनिस्ट पार्टीका प्रतिनिधिसँग सीपीले प्रधानमन्त्री भट्टराईले सम्पूर्ण काम भारतको इसारामा गरेको र चीनले विश्वास गरेका नेता महरासमेत भारत गएर बाबुरामको पक्षमा विश्वासको वातावरण बनाएको भन्दै चीनको विश्वास जित्ने प्रयासमा लागेको बताइन्छ। 

उता कात्तिक २७ गतेबाट हुने माओवादी केन्द्रीय समिति बैठकमा वैद्य पक्षले आफ्नो फरक मत जनस्तरसम्म लान पाउनुपर्ने माग अगाडि सार्ने भएको छ। यसो भएमा पार्टीभित्रको अन्तरसङ्घर्ष जारी रहने र उपयुक्त समायमा पार्टी विभाजन गर्ने सहयोगी हुने वैद्य पक्षको ठहर छ।

No comments:

Post a Comment