एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अध्यक्ष प्रचण्ड यतिखेर बुद्धको जन्मस्थान लुम्बिनीको विकासको निम्ति समर्पित भएर लागेको देखिन्छ। यससम्बन्धी अन्तर्राष्ट्रिय बैठकमा उनले धेरै पटक भाग लिइसकेका छन्। वर्तमान मन्त्रिपरिषद्को बैठकले उनलाई सरकारी तवरबाटै लुम्बिनीको विकाससम्बन्धी कामको जिम्मा दिइसकेको पनि छ। अमेरिका गएर प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनसँग भेटी उनलाई लुम्बिनी अन्तर्राष्ट्रिय विकास समितिको संयोजकको जिम्मेवारी सम्हाल्न अनुरोध गरेको र महासचिवले यस प्रस्तावलाई स्वीकारिसकेको अवस्था छ।देश विकासको निम्ति यो निकै सराहनीय कार्य हो। लुम्बिनी विकास योजनामा प्रचण्डको चासो किन रहेकॊ छ? किन उनी यसको निम्ति स्रोतसाधन जुटाउने अभियानमा लागिपरेका छन् यसबारे निकै चर्चा र बहस हुन थालेका छन्। माओवादी पार्टीभित्रको असन्तुष्ट समूहले प्रचण्डको यस गतिविधिलाई सैद्धान्तिक विचलनको उपज ठानेको छ। पार्टी महासचिव रामबहादुर थापा बादलले भौतिकवादी द्वन्द्ववादको वकालत गर्ने प्रचण्डले धर्मको खोल ओढी बुद्धवाद समात्न पुगेको आरोप लगाएका छन्।
हामी बाहिरी देशको बारेमा जति जानकारी राख्छौं त्यति जानकारी आफ्नो राष्ट्र, आफ्नॊ इतिहास र आफ्नो संस्कृतिबारे राख्न सकेका छैनौं। हाम्रा देशका नेता र बुद्धिजीवीले अन्य देशको बारेमा निकै जानेबुझेका छन् तर तिनलाई आफ्नो राष्ट्र, आफ्नो समाज र आफ्नो जीवनपद्धतिबारे कमैमात्र ज्ञान छ। माथि उल्लेख गरिएका टीकाटिप्पणीले बुद्धबारे वास्तविक ज्ञान नभएको बुझिन्छ। बुद्ध र उनको विचारबारे धेरैले थुप्रै भ्रमहरु पालेको देखिन्छ। बुद्ध नेपाली धरतीमा जन्मे र इतिहासको एउटा कालखण्डमा मानव समाजको रुपान्तरणका लागि अग्रणी भूमिका खेले। उनले पूर्वीय जगत्मा महत्वपूर्ण जीवन दर्शनको प्रतिपादन गरे। विडम्बना बुद्ध भिल्लको देशका मणि बनेका छन्।
बुद्धलाई भगवानको रुपमा पुज्ने गरिएको छ। तर बुद्ध स्वयम्ले कुनै परमात्माको अस्तित्वलाई स्वीकारेनन्। स्वर्ग र नरक, इहलोक र परलोकजस्ता सबालमा बुद्धले कहिल्यै विश्वास गरेनन्। बुद्ध मूर्तिपूजाका कट्टर विरोधी थिए तर आज संसारमा सबैभन्दा ठूलो र धेरै मूर्ति उनकै बनाइएको छ। बुद्धले प्रतिपादन गरेको प्रतित्यसमुत्पाद्को सिद्धान्त द्वन्द्ववादमा आधारित छ। त्यसको महत्वपूर्ण प्रस्थापना अनित्यवाद हो जसले वस्तुको अस्तित्वलाई स्वीकारे पनि प्रत्येक वस्तु यथावत् अवस्थामा रहिरहने धारणालाई इन्कार गर्दछ। चिर स्थायी आत्माको वकालत गर्ने उपनिषद्को खण्डन गर्दै बुद्ध यस संसारमा कुनै पनि वस्तुको स्थायित्व छैन भन्छन्। उनको विचारअनुसार संसारमा रहेका प्रत्येक वस्तु चाहे ती जड हुन् अथवा चेतन नदीको पानीझैं चलायमान हुन्छन्। बुद्धले के कुरामा जोड दिएका छन् भने जुन वस्तुको उत्पत्ति हुन्छ त्यसको विनास अवश्यंभावी छ। बुद्धले प्रतिपादन गरेको अनित्यवादको सार कार्लमार्क्सद्वारा प्रतिपादित द्वन्द्ववादको नियम निषेधको निषेधसँग मेल खान्छ।
बुद्ध दर्शनको उदय त्यस बखत भएको थियो जुन बेला समाज कबिलायी सामूहिक जीवन पद्धतिबाट व्यक्तिवादी जीवन पद्धतितर्फ ढल्कँदै थियो जुनबेला समाजमा हिन्दू बाहुनहरुले जनतामाझ अन्धविश्वास फैलाइरहेका थिए र पशुबलि दिएर मानिसहरु आफ्नो पछिको जुनी सुखमय बनाउने उडन्ते सपना बाँडिरहेका थिए। समाजमा उत्पन्न विभिन्न विसंगति र विकृतिका कारण बुद्धको मनमा विद्रोह जन्मिन गएको थियो र उनले जीवनका राम्रा मूल्यमान्यतालाई नयाँ परिस्थितिमा स्थापित गर्न नयाँ जीवन दर्शन अघि सारेका थिए। बुद्धले प्रचार गरेको विचार के थियो भने जहाँ व्यक्तिगत सम्पत्ति हुन्छ त्यहाँ त्यसप्रति अनुराग उत्पन्न हुन्छ जुन सामाजिक अन्यायको जड हो। दुःखको कुरा शंकराचार्यजस्ता हिन्दू धर्मका प्रचारकहरुले बुद्धको भौतिकवादी दर्शनमाथि धावा बोले र कतिपय बौद्ध ग्रन्थहरु जलाउने र नष्ट गर्ने काम गरे। यति गरेर पनि बुद्धको विचार र दर्शन लोप गराउन नसकेपछि उनको विचारलाई धार्मिक खोल ओढाएर एउटा आस्थामा परिणत गराइयो। आजका बुद्धिजीवीहरु अझ भनौं आफूलाई मार्क्सबादको ज्ञाता ठान्नेहरु यही भ्रमजालको शिकार भएका छन्। यदि यसो नहुँदो हो त लुम्बिनी विकास कार्यमा प्रचण्ड अघि बढ्न खोज्दा यसलाई मार्क्सबाद विरोधी कार्य भनी लान्छना लगाइने थिएन। यदि यसो नहुँदो हो त प्रचण्डलाई महन्तको पगरी गुथाइने थिएन। हामी वास्तविक तथ्यप्रति अनभिज्ञ भएकै कारण लुम्बिनीको विकास योजनालाई भौतिकभन्दा पनि आध्यात्मिक देखिरहेछौं।
निश्चय नै लुम्बिनी बुद्ध धर्ममा आस्था राख्नेहरुको निम्ति पवित्र तीर्थस्थल हो। बुद्ध धर्मका अनुयायीका लागि यो मक्का मदिनाजस्तै हो। बुद्धको वास्तविक जीवन दर्शन जे भए पनि यो दुनियाँमा उनलाई भगवान् मान्नेहरुको कमी छैन। यदि यो हो भने पनि यसमा आपत्ति प्रकट गर्नुपर्ने कुरा छैन। कम्युनिस्टहरु आफू भौतिकवादी भए पनि जनतालाई आस्थाको स्वतन्त्रता प्रदान गर्छन्। चीनको तिब्बत यसको उदाहरण हो। मार्क्सवादी मूल्य र मान्यता अँगाल्नॆ सरकारले पनि प्राचीन धार्मिक केन्द्रको संरक्षण गर्छ। लुम्बिनी विकास योजना वास्तवमा हाम्रो देशको राष्ट्रियता र जनताको भावनासँग गाँसिएको विषय हो।
बुद्धका अनुयायी चाहे ती भौतिकवादी वा अध्यात्मवादी जे हुन् विश्वका धेरै देशमा फैलिएका छन्। जुन दृष्टिकोणबाट भए पनि बुद्धलाई श्रद्धा गर्नेहरुको जमात विश्वमा ठूलो छ। नेपाल सगरमाथाको देशले मात्र होइन बुद्ध जन्मिएको देश भनेर पनि विश्वमा चिनिनु आवश्यक छ। तर यथार्थमा बुद्धको जन्मस्थान कहाँ हो? यसबारे विश्वसमुदायमा भ्रम र अन्योल छाएको छ। नेपालको इतिहास लेखनमा बेलायती लेखकहरुले देखाएको पूर्वाग्रह र हाम्रो भौगोलिक परिवेशका कारण वास्तविक तथ्य लुक्न गएको छ जसको फाइदा भारतीय इतिहासकारहरुले उठाइरहेछन्। बुद्ध भारतमा जन्मिएका हुन् भनी बाहिरी जगत्मा प्रचारप्रसार गरिएको छ। हाम्रो देशको सभ्यता र हाम्रो सांस्कृतिक सम्पदालाई ओझेलमा पार्ने प्रयासहरु भइरहेछन्। अरु देशको त कुरै छोडौं हाम्रो सीमा जोडिएको देश चीन जहाँ बुद्धका अनुयायी असंख्य छन् त्यहाँ पनि चीनस्थित नेपाली राजदूत टंक कार्की नेपाललाई बुद्धको नामबाट चिनाउन निकै कसरत गरिरहेछन्। यस परिस्थितिमा लुम्बिनी विकास योजनामा देशका प्रतिष्ठित व्यक्तिको जुन रुचि र चासो पुगेको छ त्यसमा नकारात्मक दृष्टिकोण अपनाउनु विलकुल अशोभनीय कुरा हो। लुम्बिनी विकास योजना सफल भएमा नेपालको ख्याति सर्वत्र फैलने मात्र नभै देशलाई पर्यटन व्यवसायबाट ठूलो लाभ हुनेछ।
श्रोत- नेपाल होराइजन
No comments:
Post a Comment